समाचार

लौकही गोलीकाण्ड: लेनदेन विवादमा गोली चलाएको स्थानीयको आरोप, सशस्त्रको ‘मुठभेड’ दाबी

१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी स्रोतका अनुसार साह भारतबाट सामान लिएर सिटी सफारीमा फर्किँदै गर्दा सशस्त्र प्रहरीसँग जम्काभेट भएको थियो । सो क्रममा विवाद भएपछि चलाइएको गोली उनको छातीमा लागेको जनाइएको छ । सिटी सफारीबाट चिनी, सरफ, चकलेटलगायत सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका क्रममा ‘दोहोरो भिडन्त’ भएको दाबी गरे पनि स्थानीयले लेनदेनको विवादमा एकतर्फी गोली चलाइएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनास्थलबाट दुई राउन्ड गोलीका खोका फेला परेका छन् भने घटनाबारे अनुसन्धान जारी छ ।

घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।