१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न अवस्थाबारे जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति भएको छ ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान लिएर फर्किँदै गरेका साहको सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । घटनापछि स्थानीय र पीडित पक्ष आन्दोलित भएका थिए । आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच झडप हुनुका साथै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा आक्रमणसमेत भएको थियो ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा घटनाको सत्यतथ्य छानबिन गर्ने, पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने र रोजगारीको व्यवस्था गर्ने विषयमा सहमति जुटेको हो ।
सहमतिअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
सहमतिमा मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन पहल गर्ने, छोराले सशस्त्र प्रहरीमा भर्ना हुन चाहे नियमानुसार सहजीकरण गर्ने तथा शवलाई पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाएर त्यसपछि परिवारले दाहसंस्कार गर्ने व्यवस्था गरिएको छ । सहमति पत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकाय र पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।





