माघ १६, वीरगञ्ज । ठगी मुद्दामा कैद तथा जरिवाना तोकिएपछि केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८२ माघ १४ गते दिउँसो करिब २ बजे गोप्य सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१५ रामनगर चोक क्षेत्रबाट फरार कैदी प्रविन चौरसियालाई पक्राउ गरिएको हो । उनी वीरगञ्ज महानगरपालिका–१६ नगवा टोलका २३ वर्षीय युवक हुन् ।
प्रहरीका अनुसार चौरसिया भदौ २३/२४ गते भएको Gen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका थिए । ठगी मुद्दामा उनलाई ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साको टोली तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउपछि चौरसियालाई वीरगञ्ज कारागार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जानकारी दिए ।





