१६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले हेभिवेट उम्मेदवारबीच प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रहरूमा विशेष सुरक्षा तयारी थालेको छ । २१ फागुनमा हुने निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखेर ती क्षेत्रमा कडा सतर्कता अपनाइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार सुरक्षा जोखिम हुनसक्ने स्थानहरूको पहिचान गरी विशेष कमाण्ड खटाउने तयारी भइरहेको छ । ‘हेभिवेट उम्मेदवार प्रतिस्पर्धा हुने ठाउँमा स्वभाविक रूपमा सुरक्षा चुनौती बढ्छ,’ उनले भने, ‘त्यसैले विशेष कमाण्ड बनाएर खटाउने तयारी गरेका छौं ।’
प्रहरीले आन्तरिक रूपमा गृहकार्य सुरु गरी संवेदनशील क्षेत्र तथा जिल्लाको पहिचान गरेको छ । ती क्षेत्रमा एसएसपी तहको कमाण्ड पठाउने तयारी भइरहेको छ ।
हाल सबैभन्दा चुनौतीपूर्ण जिल्लाका रूपमा झापालाई लिइएको छ । झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा पूर्वमेयर बालेन्द्र शाह (बालेन) आमनेसामने छन् । दुवै पार्टीले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । यही जिल्लामा निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगर पनि प्रतिस्पर्धामा छन् ।
झापामा हाल एसपी बसुन्धरा खड्काको कमाण्ड रहेको छ भने थप एसएसपी कमाण्ड खटाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । अहिले नै कसलाई पठाउने भन्ने निर्णय भने भइसकेको छैन । यद्यपि, नियमितभन्दा करिब १०० जना बढी प्रहरी झापामा खटाइसकिएको छ ।
त्यसैगरी सर्लाही जिल्लालाई पनि सुरक्षा दृष्टिले संवेदनशील मानिएको छ । सर्लाही–४ बाट नेपाली कांग्रेसका तर्फबाट गगन थापा उम्मेदवार छन् भने रास्वपाबाट अमरेश कुमार सिंह प्रतिस्पर्धामा छन् । यही जिल्लाबाट नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) पनि उम्मेदवार बनेका छन् । सर्लाहीमा पनि एसएसपी कमाण्ड खटाउने तयारी गरिएको छ ।
चितवन पनि उच्च सुरक्षा सतर्कतामा राखिएको छ । चितवन–२ बाट रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने उम्मेदवार छन् भने चितवन–३ मा माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहाल र रास्वपा नेतृ सोविता गौतम आमनेसामने भएका छन् ।
दोलखा, रुपन्देही, मोरङलगायत जिल्लाहरूमा पनि थप प्रहरीसहित सिनियर अफिसरको कमाण्ड पठाउने तयारी भइरहेको छ । निर्वाचनका लागि देशभर ७५ हजारभन्दा बढी प्रहरी परिचालन गरिने छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकामा रहेका १२ हजारभन्दा बढी प्रहरी जिल्लामा खटाइने तयारी छ ।
सुरक्षा थ्रेट हुनसक्ने उम्मेदवारको विवरण संकलन, सम्भावित झडपको आकलन तथा जोखिम विश्लेषण भइरहेको छ । सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागदेखि प्रहरीसम्म परिचालित छन् । डग स्निफिङ, सरप्राइज चेकिङ र संयुक्त गस्तीसमेत सुरु गरिएको छ ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत नबगोस् भन्दै सुरक्षा निकायलाई निरन्तर निर्देशन दिँदै आएकी छन् । गृहमन्त्रालयले पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न वडातहसम्म समन्वय र सहकार्य बढाउने अवधारणा सार्वजनिक गरेको छ ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार वडातहमा सक्रिय राजनीतिक दलका पदाधिकारी तथा प्रबुद्ध व्यक्तिलाई निर्वाचन प्रक्रियामा सहभागी गराई अपनत्व बढाउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने लक्ष्य लिइएको छ ।





