२५ माघ, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा ठूलो परिमाणमा म्याद सकिएका औषधि फेला परेका छन् । समयमै बिरामीलाई वितरण गर्न नसक्दा ती औषधि लामो समयसम्म गोदाममै थन्किएर म्याद गुज्रिएको अस्पताल स्रोतले जनाएको छ ।
म्याद सकिएको पुष्टि भएपछि ती औषधि अस्पताल परिसरमै रहेको शवगृह क्षेत्र नजिकै जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा आपूर्ति गरिएका औषधि व्यवस्थित रूपमा भण्डारण र वितरण नहुँदा यस्तो अवस्था आएको अस्पतालको भनाइ छ ।
यस विषयमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहले आफू अस्पतालमा आएको एक महिना मात्र भएको बताउँदै ती औषधि आफ्नो कार्यकालअघिकै भएको दाबी गरेका छन् । ‘म आएको एक महिना मात्रै भयो, यी औषधि पहिलेदेखिकै हुन्,’ उनले भने, ‘मैले औषधि जलाउन कुनै निर्देशन दिएको छैन । यदि कसैले त्यसो गरेको प्रमाणित भए कारबाही हुनेछ ।’
यता, समयमै औषधि वितरण नहुँदा अस्पतालमा उपचारका लागि आउने बिरामी आवश्यक औषधि नपाएर निजी मेडिकल पसलबाट महँगो मूल्यमा किन्न बाध्य भएको गुनासो गरेका छन् । ‘अस्पतालमा औषधि छैन भनेर फर्काइन्छ, तर गोदाममा थन्किएका औषधि जलाएर नष्ट गरिन्छ,’ एक सेवाग्राहीले असन्तुष्टि व्यक्त गरे ।
स्वास्थ्य मापदण्डविपरीत औषधि जलाएर नष्ट गरिएको भन्दै स्थानीयवासीले औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा गम्भीर लापरबाही भएको आरोप लगाएका छन् । उनीहरूले यस विषयमा पारदर्शिता र नियमित अनुगमन आवश्यक रहेको माग गरेका छन् ।





