समाचार

चालु आवमा ८५.९६ प्रतिशत मात्र बजेट खर्च हुने अर्थ मन्त्रालयको संशोधित अनुमान

२७ माघ, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयनमा रहेको बजेटको करिब ८५.९६ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै कुल बजेट खर्चको अनुमान परिमार्जन गरेका हुन्। हाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। मन्त्रालयको संशोधित अनुमानअनुसार आर्थिक वर्षको अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ मात्र खर्च हुनेछ, जुन सुरुमा विनियोजन गरिएको बजेटको ८५.९६ प्रतिशत हो।

संशोधित अनुमानअनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ र पूँजीगत खर्चतर्फ २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फको बजेट खर्च ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ रहने अनुमान अर्थ मन्त्रालयले गरेको छ।

सरकारले चालु आवका लागि चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भने यथावत् राखिएको जनाएको छ।