समाचार

ओली भन्छन्: ‘चुनाव हुन्छ जस्तो लाग्छ, तर वातावरण छैन’

३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसम्म चुनावको स्पष्ट वातावरण नबनेको टिप्पणी गरेका छन् ।

आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावको तयारी भइसकेको जस्तो अवस्था देखिन नसकेको बताएका हुन् । उनका अनुसार चुनाव हुने–नहुने विषयमा अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन ।

तर चुनाव भएमा एमाले त्यसमा सहभागी हुने ओलीले स्पष्ट पारे । “चुनाव हुने भयो भने हामी भाग लिन्छौं,” उनले भने, “अहिलेसम्म चुनावको वातावरण बनेको जस्तो देखिँदैन ।”

पत्रकारले ‘तपाईं के देख्नुहुन्छ ?’ भन्ने प्रश्न गरेपछि ओलीले भने, “चुनाव त हुन्छ भन्ठान्छु अब ।”

उनले चुनावको वातावरणबारे सबैभन्दा बढी जानकारी सरकारलाई नै हुनुपर्ने उल्लेख गर्दै भने, “चुनावको वातावरण सरकारलाई थाहा हुने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन ।”

यसैबीच, चुनावी अभियानका क्रममा सकेसम्म देशभरका विभिन्न स्थानमा पुग्ने तयारीमा रहेको पनि ओलीले बताए ।