समाचार

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार यादवद्वारा उम्मेदवारी फिर्ता, एमाले प्रवेश

४ फागुन, बुटवल । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार थिए।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले)मा समाहित भएको घोषणा गरेका छन्। यादव जसपा नेपालका केन्द्रीय सदस्यसमेत थिए।

विज्ञप्तिमा उनले प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलो कार्यक्रमसम्म पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वासका साथ सो निर्णय लिएको बताएका छन्।

‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन्।

एमाले प्रवेश गरेका यादवलाई पार्टीका स्थानीय नेताहरूले स्वागत गरेका थिए।