समाचार

मतदातामाझ ओलीको गुनासो: ‘राष्ट्रका लागि काम गर्न खोज्दा नै हाँसोको विषय बनाइन्छ’

४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न आफूले चार पटक प्रधानमन्त्री बन्नुपरेको बताएका छन्। झापा–५ मा चुनावी घरदैलो अभियानका क्रममा सोमबार बोल्दै उनले राजनीतिक अस्थिरताका कारण निरन्तर रूपमा सरकार ढालिने अवस्था आएको उल्लेख गरे।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओलीले विकासका लागि निरन्तरता आवश्यक हुने बताउँदै “उभिएर विकास हुँदैन, अलिकति अगाडि पाइला सार्नुपर्छ” भने। नयाँ यात्रा सुरु गर्न नयाँ ठाउँमा टेक्नुपर्ने उनको भनाइ थियो।

उनले रेल परियोजना र पानीजहाजमार्फत समुद्रसम्म पहुँचको अवधारणा अघि बढाउँदा पटक–पटक सरकार भत्काइएको स्मरण गरे। “काम सुरु गर्छु, सरकार ढल्छ। फेरि सुरु गर्छु, फेरि ढल्छ। एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्‍यो,” उनले भने।

राम्रो काम गर्न खोज्दा पनि अवरोध सिर्जना गरिएको उनको गुनासो थियो। औद्योगिक क्षेत्र निर्माण, पूर्वाधार विकासजस्ता विषयमा देशभित्र र बाहिरका विभिन्न शक्तिहरूले अवरोध गरेको आरोप लगाउँदै उनले गम्भीर विषय उठाउँदा समेत मजाक उडाइने गरेको बताए।

ओलीले विश्वका शहरहरूमा सभागृह, सामुदायिक भवन र रंगशाला सामान्य संरचना हुने उल्लेख गर्दै नेपालमा रंगशाला बनाउन खोज्दा पनि विरोध भएको बताए। “विरोधका बीच पनि काम रोकिनु हुँदैन, अगाडि बढाउनैपर्छ,” उनले जोड दिए।