६ फागुन, काठमाडौं । शिवरात्रीको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
घटनामा श्रेष्ठले पशुपति क्षेत्रमा ड्युटीमा रहेका एक प्रहरीलाई लात्तीले छातीमा प्रहार गरेका थिए । प्रहरीमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि व्यापक आलोचना भएको थियो । तर, भिडियो सार्वजनिक भए पनि आक्रमणकारीको पहिचान खुलेको थिएन ।
यसैबीच मंगलबार प्रहरीले सूचना जारी गर्दै प्रहरीमाथि आक्रमण गर्ने युवकको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो । प्राप्त सूचनाका आधारमा आक्रमणमा संलग्न युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।





