समाचार

रास्वपा त्यागेका रमेश खरेल कांग्रेसको सभामा

८ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् ।

खरेल काभ्रेपलाञ्चोक–२ का कांग्रेस उम्मेदवार मधु आचार्यको पाँचखालमा भइरहेको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । पाँचखाल–५ को केराघारीमा पुगेका उनले आफू कुनै पार्टीमा आबद्ध नभए पनि रुपान्तरणसहित अघि बढेको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षासहित कार्यक्रममा आएको बताए ।

‘म न्युट्रल मान्छे हुँ, कुनै पार्टीमा आवद्ध छैन । तर नेपाल आमाले नयाँ अनुहार खोजिरहनुभएको छ,’ खरेलले भने, ‘न्युट्रल भोटरको हिसाबले हेर्दा कांग्रेस हिजोको कांग्रेस रहेन । सुदृढीकरणसहित युवा नेताहरूको उदय भएको छ । त्यो उदय भोलिको स्पष्ट भिजन र त्यसलाई एक्सनमा लैजाने साहस हो ।’

उनले कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्माको आँटलाई सहयोग गर्न आफू मत माग्न आएको पनि बताए ।

आम निर्वाचन २०७९ मा काठमाडौं–१ बाट चुनाव लडेका खरेल पछि बारा–२ को उपनिर्वाचनमा रास्वपाबाट प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा उनी उपेन्द्र यादवसँग पराजित भएका थिए ।

चुनावपछि रास्वपाको कुनै जिम्मेवारीमा नरहेका खरेलले पछिल्लो समय पार्टी नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका थिए ।