९ फागुन, सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा आयोजित नेपाली कांग्रेसको चुनावी कार्यक्रम तनावग्रस्त बनेपछि प्रहरीले लाठीचार्ज गरेको छ।
सुनसरी क्षेत्र नम्बर–४ अन्तर्गतको उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सम्बोधनका लागि जाँदै गर्दा बाटोमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट भएको थियो। प्रारम्भिक भनाभन चर्किंदै जाँदा दुवै पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ।
स्थिति नियन्त्रणबाहिर जान सक्ने देखिएपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरीले दुवै दलका कार्यकर्तालाई तितरवितर पार्न लाठीचार्ज गरेको जनाएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताबीच विवाद चर्किएपछि हस्तक्षेप गर्नुपरेको हो।
प्रहरीका अनुसार झडपमा संलग्न अधिकांश कार्यकर्ता छिमेकी नै भए पनि फरक राजनीतिक आस्थाका कारण विवाद उत्पन्न भएको थियो। केही समय तनावपूर्ण अवस्था बनेपछि सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।





