१० फागुन, सुर्खेत । जुम्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेश भण्डारी यतिबेला ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक’को ड्राफ्ट बोकेर घरदैलो अभियानमा छन् । अन्य उम्मेदवारझैँ विकासका साना–साना योजना नभई नीति र कानुन निर्माणमार्फत कर्णालीको दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने उनको मुख्य प्रतिबद्धता छ ।
२०६४ सालमा २९ वर्षको उमेरमै संविधानसभा सदस्य बनेका भण्डारी २०७४ मा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए । उनले यसअघि ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल’ सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएर सरकारबाट स्वीकृत गराउन सफल भएका थिए ।
पछिल्ला पाँच वर्षदेखि ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक’ र ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक’ पारित गराउन प्रयासरत भण्डारीले सिञ्जा क्षेत्रलाई सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने लक्ष्य लिएका छन् । विधेयक पास भएमा सिञ्जा सभ्यता संरक्षण तथा विकास प्राधिकरण गठन गरी ऐतिहासिक, भाषिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गरिने व्यवस्था प्रस्ताव गरिएको छ ।
जुम्लामा विभिन्न दलका १० जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि भण्डारी आफ्नो चुनावी अभियानलाई नीति–केन्द्रित बनाउँदै मतदातासँग समर्थन मागिरहेका छन् ।





