समाचार

गौरमा सद्भाव र्‍यालीको तयारी, शान्तिका लागि सर्वदलीय अपिल

१० फागुन, गौर । रौतहटको गौर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव समाधान गर्न सद्भाव र्‍याली निकालिने भएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आह्वानमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्ने उद्देश्यले र्‍याली आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले भोलि बिहान ७:३० बजे सबगढा गाउँबाट नागरिक समाजको अगुवाइमा सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको जनाएको छ। र्‍यालीमार्फत जिल्लाबाट शान्ति, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने प्रशासनको लक्ष्य छ।

गौर नगरपालिका–६ को सबगढा गाउँमा फागुन ७ गते राति सुरु भएको विवाद सामान्य रूपमा समाधानतर्फ गएको भए पनि फागुन ८ गतेदेखि पुनः उग्र बनेको थियो। फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल बन्दै गएपछि सम्भावित जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको थियो, जुन हालसम्म कायम छ।

सर्वपक्षीय बैठकले घटनाप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण वातावरण निर्माणका लागि सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरेको छ। साथै, दुवै समुदायका स्थानीय अगुवा तथा भद्रभलादमी व्यक्तिहरूको सहभागितामा औपचारिक तथा अनौपचारिक छलफलमार्फत समस्या समाधानका लागि पहल गर्ने सहमति भएको छ।

बैठकले सामाजिक सञ्जालमार्फत भ्रामक र उत्तेजक प्रचारप्रसार नगर्न सचेत गराउँदै यस्ता गतिविधिले शान्ति भंग गर्न खोजेमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिए कानुनी दायरामा ल्याइने प्रशासनको प्रतिबद्धता छ।

प्रशासनले जिल्लावासीलाई संयमित रहन, अफवाहमा नलाग्न र आपसी सद्भाव कायम राख्न आग्रह गरेको छ।