समाचार

ट्रम्प निवासमा छिरे हतियारधारी, सुरक्षाकर्मीको गोली चल्दा एकको मृत्यु

११ फागुन, काठमाडौं। डोनाल्ड ट्रम्पको मार–आ–लागोस्थित निवास परिसरमा जबरजस्ती प्रवेश गर्न खोजेका एक व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानी मृत्यु भएको छ।

घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा रहेका थिए भने उनका परिवारका सदस्यहरू फ्लोरिडास्थित निवासमै रहेको जनाइएको छ। अधिकारीहरूका अनुसार परिवारका सबै सदस्य सुरक्षित छन्।

स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई युनाइटेड स्टेट्स सिक्रेट सर्भिसका एजेन्ट तथा पाम बीच काउन्टी शेरिफ कार्यालयका सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरेका थिए। प्रारम्भिक चेतावनी दिँदै सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए।

पाम बीच काउन्टीका शेरिफले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, ती व्यक्तिले पेट्रोलको डिब्बा भुईँमा राखे पनि शटगन चलाउने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउन बाध्य भएका हुन्। घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद गरिएको छ। घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन्।

मार–आ–लागो परिसरमा सधैं कडा सुरक्षा व्यवस्था रहने गर्छ। बाहिरी सुरक्षा घेरा स्थानीय शेरिफ कार्यालयले सम्हाल्ने र भित्री सुरक्षा सिक्रेट सर्भिसले व्यवस्थापन गर्ने व्यवस्था छ। आगन्तुकहरूको कडाइका साथ जाँच गरिन्छ भने सवारीसाधन र झोलाको मेटल डिटेक्टर तथा तालिमप्राप्त कुकुरमार्फत परीक्षण गरिन्छ।

यति कडा सुरक्षा व्यवस्थाबीच संदिग्ध व्यक्ति भित्री क्षेत्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ। मृतक व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन।

यस घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसाबारे पुनः चिन्ता बढाएको विश्लेषण गरिएको छ। राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास भएका थिए। घटनापछि राष्ट्रपति र उनका परिवारका सदस्य वरिपरि सुरक्षा घेरा थप कडा बनाइएको जनाइएको छ।