राजनीति

बालेनले सार्वजनिक गरे झापा–५ बाचापत्र, दमक भ्युटावरदेखि शिक्षा–स्वास्थ्यसम्म ध्यान

११ फागुन, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। उनले केपी शर्मा ओलीको पहलमा दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओलीविरुद्ध प्रतिस्पर्धा गर्दै बालेनले बाचापत्रमा उल्लेख गरेका छन्, “दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ।” लामो समय सञ्चालनमा नआएको भ्युटावरको समस्या अहिले आलोचनाको विषय बनेको छ।

बालेनले संघीय सांसदको हैसियतमा संविधान अनुसारका दायित्व पूरा गर्ने, भ्रष्टाचार विरुद्ध अग्रपंक्तिमा उभिने, र स्थानीय जनताको समस्या संसदमा निरन्तर प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्। उनले झापा–५ को विकासका मुद्दा राष्ट्रिय नीति र बजेटमा प्रभावकारी रूपमा उठाउने र संघ, प्रदेश र स्थानीय तहको विकास योजनाको अनुगमन सुनिश्चित गर्ने वाचा गरेका छन्।

शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकतामा पनि ध्यान दिने उनले उल्लेख गरेका छन्। शिक्षामा विशेष ध्यान दिँदै बालेनले गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने, स्थानीय पुस्तकालय र डिजिटल अध्ययन केन्द्र सञ्चालन गर्ने, र दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण तथा सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन्।

भवन निर्माण र पूर्वाधार योजनासँगै उनले कृषि, पर्यटन, खेलकुद र स्वास्थ्य क्षेत्रमा पनि ठोस योजना अघि सार्ने बताएका छन्। उनका मुख्य प्रतिबद्धताहरूमा रहेका छन्:

  1. विराट बुद्ध पार्कको निर्माण र सञ्चालन।
  2. दमक सभागृह र भ्यूटावरको सञ्चालन।
  3. रतुवा खोला, मावा खोला र सहायक खोला तटबन्ध निर्माण।
  4. दमकलाई पूर्वी नेपालको “आइ.टी. हब” को रूपमा विकास।
  5. कन्काई–रतुवा सिँचाइ योजना विस्तार।
  6. प्रत्येक पालिकामा श्रम बैंक स्थापना।
  7. गौरादह कृषि भण्डारण केन्द्र स्थापना।
  8. गौरादह कृषि क्याम्पसलाई अनुसन्धान हबमा रूपान्तरण।
  9. गौरीगञ्ज भन्सारको पारदर्शी सञ्चालन।
  10. दमक अस्पतालको स्तरोन्नति र ग्रामीण स्वास्थ्य केन्द्र विस्तार।
  11. दमक गोल्डकपको व्यवसायिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन।

बालेनले आफ्नो राजनीतिलाई पेशा नभई सेवा बनाउने र मतदाताको विश्वासलाई परिणाममा रुपान्तरण गर्ने संकल्प गरेका छन्। उनले स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय कायम गरी क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने योजना अघि सारेका छन्।

यस बाचापत्रले झापा–५ का नागरिकका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार र स्थानीय विकासका स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।