१५ फागुन, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक वक्तव्य जारी गर्दै उनले अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरूलाई आश्रय दिइएको आरोप लगाए र अब पाकिस्तानको धैर्य समाप्त भइसकेको बताएका छन्।
अफगान तालिवानका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा काबुल, पक्तिका र कन्धारका केही स्थानमा बमबारी गरिएको पुष्टि गरेका छन्। उनका अनुसार आक्रमण भए पनि मानवीय क्षति नभएको दाबी गरिएको छ।
पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले काबुल, पक्तिका र कन्धारमा रहेका तालिवानका संरचनालाई निशाना बनाइएको बताएका छन्। उनका अनुसार दुई कोर मुख्यालय, दुई हतियार भण्डार, एक आपूर्ति गोदाम, तीन बटालियन मुख्यालय, दुई क्षेत्रीय मुख्यालय तथा ८० भन्दा बढी ट्यांक नष्ट गरिएको दाबी गरिएको छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
काबुलमा रातभर विस्फोट
समाचार एजेन्सीका अनुसार राजधानी काबुलमा राति करिब १:५० बजेदेखि लडाकु विमानको आवाजसँगै ठूला विस्फोट सुनिएका थिए। बिहान करिब २:३० बजेसम्म गोली चलेको आवाज सुनिएको जनाइएको छ।
यसअघि दुवै देशबीच युद्धविराममा सहमति भए पनि पछिल्ला घटनाक्रमले तनाव पुनः चुलिएको देखिन्छ। तालिवान पक्षले अघिल्लो हवाई आक्रमणमा महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको दाबी गरेको थियो।
आरोप–प्रत्यारोप तीव्र
दुवै देशले एकअर्कामाथि पहिले आक्रमण सुरु गरेको आरोप लगाउँदै आएका छन्। तालिवान पक्षले जवाफी कारबाही गरिएको जनाएको छ भने पाकिस्तानी अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेका छन्।
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले काबुल, कन्धार र पक्तिकामा भएको आक्रमणको निन्दा गर्दै अफगान नागरिक एकताबद्ध भएर आफ्नो भूमिको रक्षा गर्ने बताएका छन्।
पाकिस्तानले लामो समयदेखि प्रतिबन्धित समूह तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) विरुद्ध कडा कारबाहीको माग गर्दै आएको छ। यही विषयलाई लिएर दुई देशबीचको सम्बन्ध निरन्तर तनावपूर्ण बन्दै गएको छ।
पछिल्ला घटनाले सीमापार द्वन्द्व अझै जटिल र गम्भीर बन्दै गएको संकेत गरेको छ।





