राजनीति

चितवनमा बालेनको रोचक शैली : ‘निलो जस्ता कसलाई जिस्क्याउन राख्नुभएको ?’

१५ फागुन, काठमाडौं । बालेन्द्र शाह (बालेन) शुक्रबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन्। आगामी २१ फागुनको निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार रहेका उनले विभिन्न जिल्लामा पुगेर मतदातासँग भेटघाट तथा सभालाई सम्बोधन गरिरहेका छन्।

चितवनको सभामा उनले आफ्नो परिचित अनौपचारिक शैली दोहोर्‍याए। सम्बोधनको सुरुआतमै उनले जहाजबाट चितवन आउँदै गर्दा देखेको दृश्य उल्लेख गरे। शहरका अधिकांश घरका छतमाथि निलो जस्ता देखिएको भन्दै उनले भीडलाई प्रश्न गरे, “सबैको छतमा निलो जस्ता रहेछ, कसलाई जिस्क्याउन राख्नुभएको हो ?”

उनको यो अभिव्यक्तिले सभास्थलमा हाँसो र ताली दुवै पैदा गरेको थियो। त्यसपछि उनले निलो जस्तालाई आफ्नो पार्टीसँग तुलना गर्दै भने, “जसरी त्यो निलो छानाले घरलाई मक्किनबाट जोगाउँछ, त्यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई बिग्रिनबाट जोगाउने काम गर्छ।”

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न क्षेत्रका समस्या उठाउँदै आएका बालेनले चितवनमा पनि विकास, सुशासन र पारदर्शिताको मुद्दा दोहोर्‍याए। उनको सम्बोधनमा हल्का व्यंग्य, स्थानीय सन्दर्भ र राजनीतिक सन्देश मिसिएको देखिन्थ्यो।

सभामा सहभागी नागरिकले उनको अभिव्यक्तिलाई मिश्रित प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा केहीले यसलाई रोचक शैली भनेका छन् भने केहीले अनावश्यक टिप्पणीका रूपमा टिप्पणी गरेका छन्।