२ चैत, विराटनगर । सिटिजन्स बैंकको विराटनगर स्थित कञ्चनबारी शाखामा नक्कली ऋणी सिर्जना गरी करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको प्रकरण सार्वजनिक भएको छ। बैंकको आन्तरिक छानबिनका क्रममा यो हिनामिनाको प्रमाण भेटिएपछि बैंकले प्रहरीमा कारबाहीका लागि जाहेरी दिएको छ।
सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार, सरप्राइज अडिट गर्दा ऋण लगानी शंकास्पद देखिएको थियो। आन्तरिक अनुसन्धानले अधिकारको दुरुपयोग भएको देखाएको छ। शाखा सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाइमा नक्कली ऋणी खडा गरिएको पाइए पनि अन्य कर्मचारीहरूको समेत मिलेमतो भएको आशंका छ।
बैंकले रोजी कँडेलको परिवारबाट हिनामिनाको बराबरको धितो संकलन गरी प्रहरीमा निवेदन दिएको थियो। अनुसन्धानका क्रममा कँडेलले अन्य कर्मचारीको युजर आईडी प्रयोग गरेको स्वीकारेका छन्। प्रहरी उपरीक्षक कवित कटवालका अनुसार, बैंक र कर्मचारी दुवैबाट उजुरी आएपछि अनुसन्धान जारी छ।
यो सिटिजन्स बैंकको कञ्चनबारी शाखाबाट ऋण अपचलनको पहिलो घटना होइन। करिब पाँच वर्षअघि पनि यस्तै प्रकरण भएको थियो, जसमा तत्कालीन शाखा प्रमुख कारबाहीमा परेका थिए।




