समाचार

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

३ चैत, बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा संक्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।

पालिकाको नौ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई खोप लगाइएको हो ।

ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा दादुरा संक्रमित फेला परेपछि खोप अभियान सुरु गरिएको हो । फागुन २९ गतेदेखि यही चैत १ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।

छुटेकालाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी र्दिए ।

संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य कार्यालयको समूह ढोरपाटनमा खटिएको उनको भनाइ छ । हालसम्म सातजनामा संक्रमण पुष्टि भइसकेको जनाउँदै उनले १०३ जना शंकास्पद बिरामी रहेका बताए ।