५ चैत, काठमाडौं । अस्ट्रियन दूतावास नयाँ दिल्लीले अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा FWEAN सँगको सहकार्यमा आज काठमाडौंस्थित QFX छाया केन्द्रमा विशेष फिल्म प्रदर्शन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका करिब १५० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अस्ट्रियन सांस्कृतिक फोरम र अस्ट्रियन दूतावास नयाँ दिल्लीले भारत, बंगलादेश, भुटान, नेपाल र श्रीलंकामा रहेका अष्ट्रियाका मानार्थ वाणिज्य दूतावासहरूसँग सहकार्य गरी पुरस्कारप्राप्त फिल्म ‘मेहरुन्निसा’ को विशेष प्रदर्शन आयोजना गरेका हुन् ।
उक्त प्रदर्शन स्थानीय महिला संगठनहरूले उपलब्ध गराएका स्थलहरूमा सञ्चालन गरिएको हो । यो पहल युरोपेली तथा अन्तर्राष्ट्रिय मामिलाका लागि अष्ट्रियाको संघीय मन्त्रालयको महिला अधिकार, समानता र सशक्तीकरणप्रतिको प्रतिबद्धतासँग मेल खाने विश्वास लिइएको छ। ‘मेहरुन्निसा’ सन्दीप कुमारद्वारा निर्देशित ९० मिनेट लामो नाटक (ड्रामा) फिल्म हो । लखनउमा आधारित यस फिल्मले ८० वर्षीया एक विधवाको कथा प्रस्तुत गर्छ, जसले आफ्ना दिवंगत श्रीमानको प्रभावबाट मुक्त भई आफ्नै पहिचान स्थापित गर्ने साहसिक निर्णय गर्छिन् ।
यस क्रममा उनले पितृसत्तात्मक मान्यताहरूलाई चुनौती दिँदै महिलाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गर्छिन् । फिल्ममा भारतकी चर्चित चरित्र अभिनेत्री फारुख जाफरले ८८ वर्षको उमेरमा पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेकी छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा उनले ‘पिपली लाइभ’, ‘स्वदेस’, ‘सुल्तान’, ‘सेक्रेट सुपरस्टार’ र ‘फोटोग्राफ’ जस्ता चर्चित फिल्महरूमा स्मरणीय भूमिका निर्वाह गरिसकेकी छन् । ‘मेहरुन्निसा’ मा उनको भूमिकाले साहस, आत्मसम्मान र अवसरको अभावसँग जुध्ने विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
निर्देशक सन्दीप कुमार भियना आधारित छन् र उनका फिल्महरूले पहिचान, आप्रवासन, मर्यादा र समानता जस्ता विषयहरूलाई उजागर गर्छन्। उनका कृतिहरू विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भई पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । ‘मेहरुन्निसा’ को प्रिमियर भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोवा) मा भएको थियो । त्यसपछि यो फिल्म डाइगोनेल, प्रिस्टिना अन्तर्राष्ट्रिय फिल्म महोत्सव, दक्षिण एशिया अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भ्यानकुभर, ए.एस.टि. आइ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा भारतीय फिल्म महोत्सव स्टटगार्ट लगायतका अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन भइसकेको छ ।
स्टुटगार्ट फिल्म फेस्टिभलमा यसले उत्कृष्ट अभिनेत्री पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेको छ । यस विशेष प्रदर्शनमार्फत महिला सशक्तीकरण, समानता र सामाजिक चेतनाको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ । साथै, यस्ता सांस्कृतिक कार्यक्रमहरूले अष्ट्रिया र दक्षिण एशियाली देशहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।





