७ चैत, काठमाडौं । शनिबार बिहान काठमाडौंको माइतीघर मण्डला सामान्य जस्तो देखिँदैन। हातमा प्लेकार्ड बोकेका, अनुहारमा आक्रोश र मनमा प्रश्न लिएर युवाहरू यहाँ भेला भइरहेका छन्। उनीहरूको एउटै माग छ—भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर।
भीडको बीचमा उभिएका एक घाइते युवा आफूलाई “जेनजी आन्दोलनका साक्षी” भनेर चिनाउँछन्। उनी भन्छन्, “हामी न्याय खोजिरहेका छौं, तर प्रतिवेदन लुकाइँदैछ जस्तो लाग्छ।” उनको आवाजमा पीडा र आक्रोश दुवै मिसिएको छ।
घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगायतका समूहहरूको सहभागितामा भइरहेको यस प्रदर्शनमा युवाहरू विभिन्न नारा लगाइरहेका छन्। कसैले “कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर” लेखिएको प्लेकार्ड समातेका छन् भने कसैले “प्रतिवेदन किन झोलाभित्र?” भन्दै प्रश्न उठाइरहेका छन्।
प्रदर्शनमा सहभागी अर्का एक युवा भन्छन्, “जेनजी आन्दोलनको बलमा नेताहरू सांसद बन्छन्, तर हाम्रो उद्देश्य अझै अधुरो छ।” उनको भनाइमा निराशा झल्किन्छ।
भीड बढ्दै जाँदा नारा अझै चर्को बन्दै जान्छ। तर ती नाराभित्र एउटा स्पष्ट सन्देश छ, पारदर्शिता र न्यायको माग। प्रदर्शनकारीहरू स्पष्ट पार्छन्, “सरकारी संरचना जलाउने वा प्रहरीमाथि कुटपिट गर्ने काममा हामी संलग्न छैनौं। दोषी जो छन्, उनीहरूलाई कारबाही हुनुपर्छ।”
जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको कुरा बाहिर आएको छ। तर अझैसम्म सार्वजनिक नगरिनुले युवाहरूको शंका झन् गहिरो बनाइरहेको छ।
माइतीघरको यो भीड केवल विरोध होइन, यो न्यायको खोजी हो, शहीद र घाइतेहरूको आवाज दबिन नदिने अठोट हो।





