७ चैत, बुटवल । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा आज बिहान दुई समुदायबीच उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
आज बिहान मन्दिरमा भजन गाउने विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद बढेपछि सम्भावित झडपलाई रोक्न प्रशासनले कुनै भेला, सभा वा जुलुस गर्न नपाउने आदेश जारी गरेको हो। निषेधाज्ञा आज दिउँसो २ बजेदेखि लागू भई अर्को सूचना नभएसम्म कायम रहनेछ।
प्रशासनले पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र निषेधाज्ञा लागू भएको जानकारी दिएको छ।
राम नवमी र इदका अवसरमा दुवै समुदायले आफ्नो धर्म अनुसार पूजा पाठ गर्दा माइकको आवाज चर्को हुँदा विवाद बढेको स्थानीय अधिकारीहरूले बताएका छन्। झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार, निषेधाज्ञा लागू भएपछि स्थिति अहिले नियन्त्रणमा छ।





