१५ चैत, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले स्वेच्छाचारी ढंगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको टिप्पणी गरेका छन् । अदालतको अनुमति नलिई सरकारले ओली–लेखकलाई पक्राउ गर्न नमिल्ने उनले जिकिर समेत गरे ।
आज काठमाडौंमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ओली र लेखकलाई पक्राउ गर्न सरकारले जरुरी पक्राउ पुर्जी जारी गरेर वदनियतपूर्ण गतिविधि गरेको आरोप लगाए । उनले जरुरी पक्राउ पूर्जी जारी गर्ने काम प्रमाण नै नष्ट गर्ने जस्ता जटिल अवस्थामा मात्रै हुने भए पनि सरकारले त्यसलाई सामान्य अवस्थामा प्रयोग गरेर गल्ती गरेको बताए ।
कानुनमा के छ भने अदालतको अनुमति नलिइ कसैलाई पनि गिरफ्तार गर्न मिल्दैन । पक्राउको अनुमति अदालतबाट लिनुपर्छ । नियम त्यो हो । जरुरी पक्राउ पुर्जीको जुन सन्दर्भ छ । यो भनेको एक्सेप्सन हो । यो अपवादमा हो । अब मान्छेले प्रमाण नै मेट्ने भयो । भागेर जाने भयो । अर्को ड्यामेज गर्ने अवस्था भयो । यस्तो अवस्थाका लागि परिकल्पना गरिएको कुरालाई नर्मल अवस्थामा प्रयोग गरियो, उनले भने ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारले भदौ २३ को घटनालाई मात्रै दोषी करार गर्ने गलत नियत राखेको दाबी समेत गरे ।





