गण्डकी प्रदेश

तनहुँ बस दुर्घटना: २ को मृत्यु, २७ घाइते

११ वैशाख, काठमाडौं । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।

पोखरादेखि भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा कुल ३२ जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेमध्ये ३१ जनालाई जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र लगिएको थियो। उपचारका क्रममा २ जनाको मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए। मृतकहरूको पहिचान खुल्ने क्रममा रहेको छ।

उपचार केन्द्रमा केहीको प्राथमिक उपचारपछि २७ जना घाइतेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ। एक जना उपचाररत छन् भने एक जना डिस्चार्ज भइसकेका छन्।

घाइतेलाई घटनास्थलबाट एम्बुलेन्स, ट्याक्सी, माइक्रोबस तथा स्कुल बस प्रयोग गरी अस्पताल पुर्‍याइएको थियो। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।