बाग्मती

कीर्तिपुरमा सुकुमवासीको असन्तुष्टि : ‘एक प्याकेट खानाले पेट भरिन्न’

१३ वैशाख, काठमाडौं । काठमाडौंको थापाथली, गैरीगाउँ र सिनामंगल लगायत क्षेत्रबाट सुकुमवासी बस्ती हटाइएपछि विस्थापितहरूलाई विभिन्न अस्थायी सेल्टरमा राखिएको छ। सरकारले आइतबार ती बस्तीहरू खाली गराउँदै मनोहरा क्षेत्रका अन्य बस्ती हटाउने क्रमसमेत जारी राखेको छ।

विस्थापित सुकुमवासीहरूलाई कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा केहीलाई राखिएको छ भने भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा समेत स्थानान्तरण गरिएको छ।

सरकारले विस्थापितहरूलाई ‘स्क्रिनिङ’ प्रक्रियामार्फत व्यवस्थापन गर्दै उनीहरूको व्यक्तिगत, पारिवारिक तथा सम्पत्ति विवरण संकलन गरेको छ। यसका लागि भूमि सुधार तथा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त टोली खटिएको थियो।

अस्थायी सेल्टरमा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाले खानाको व्यवस्था गरेको जनाएको छ। शनिबार साँझ र आइतबार बिहानका लागि प्याकेट खाना वितरण गरिएको थियो भने बिहान चिया र बिस्कुट पनि उपलब्ध गराइएको थियो।

तर, सुकुमवासीहरूले उक्त व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। केहीले बिहान चिया र बिस्कुटसमेत नपाएको गुनासो गरेका छन् भने मध्यान्हमा वितरण गरिएको एक प्याकेट खानाले पेट नभरिने बताएका छन्।

वर्षौंदेखि बस्दै आएको बस्ती छाड्नुपरेको पीडासँगै आधारभूत आवश्यकतामा समेत कमी भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। सरकारले अस्थायी व्यवस्थापन गरेको भए पनि दीर्घकालीन समाधान र पर्याप्त राहतको माग उनीहरूले गरेका छन्।