प्रदेश 1

सुनसरी–१ बाट उठ्यो रूपान्तरणको आवाज, के हो कारण ?

१३ वैशाख,  काठमाडौं । नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको बैठकले पार्टीभित्र देखिएको विवादबीच महत्वपूर्ण राजनीतिक निर्णयहरू गरेको छ। क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशनको पक्षमा उभिने, आगामी निर्वाचनमा गठबन्धन नगर्ने र समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न माग गर्ने निर्णय गरेको हो।

बैठकले पुस मसान्तभित्रै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने र त्यसमा सुनसरी–१ बाट सक्रिय सहभागिता जनाउने निष्कर्ष निकालेको छ। बहुमत महाधिवेशन प्रतिनिधिहरूको भावना र पार्टी विधानविपरीत केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको आरोप लगाउँदै बैठकले उक्त कदमलाई “अलोकतान्त्रिक खेलवाड” भनेको छ।

नेतृत्व परिवर्तन र नीति सुधारको माग उठाउँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरे पनि त्यसलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। साथै, तोकिएको नियमित महाधिवेशनसमेत सारिएको विषयले पार्टीभित्र असन्तोष झन् बढाएको बैठकको ठहर छ।

त्यसैगरी, विगतका निर्वाचनमा गरिएको गठबन्धनले मतदाता र कार्यकर्तामा निराशा ल्याएको निष्कर्ष निकाल्दै आगामी चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको छ।

समानुपातिकतर्फको बन्दसूचीमा बारम्बार अवसर पाएकाहरूलाई प्राथमिकता दिइएको भन्दै बैठकले सूची संशोधन गर्न माग गरेको छ। लामो समयदेखि पार्टीमा योगदान दिँदै आएका तर अवसर नपाएकाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

बैठकमा कोशी प्रदेश महामन्त्री तथा महासमिति सदस्य उमेश थापा लगायत विभिन्न तहका नेताहरूले धारणा राखेका थिए। जिल्ला, प्रदेश र नगरस्तरका नेताहरूको समेत उल्लेख्य उपस्थिति रहेको बैठकले पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको आवाजलाई सशक्त रूपमा अघि बढाउने संकेत दिएको छ।