बाग्मती

मापदण्ड मिचिएको निष्कर्षपछि संरचना भत्काउन सुरु

१९ वैशाख, काठमाडौं । नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको डोजर पुनः सञ्चालनमा आएको छ। यसअघि स्थानीयले लालपूर्जा देखाउँदै अवरोध गरेपछि रोकिएको काम छानबिनपछि फेरि अघि बढाइएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, सरकारी टोलीले गरेको स्थलगत अध्ययनपछि ती घरहरू नदी किनारको मापदण्ड विपरीत बनेको निष्कर्ष निकालेको छ।

उनले भने, “नदी किनारबाटै जग उचालेर घर बनाइएको देखियो, त्यसैले अहिले ती संरचनामा डोजर चलाउने काम सुरु गरिएको छ।”

स्थानीयले आफ्नो लालपूर्जा रहेको दाबी गर्दै भत्काउन नदिने अडान लिएपछि आठ सदस्यीय सरकारी टोली खटाइएको थियो। टोलीले जग्गाको वास्तविकता अध्ययन गरी प्रतिवेदन दिएपछि भत्काउने प्रक्रिया पुनः सुरु गरिएको हो।

सीडीओ पौडेलका अनुसार, विस्तृत छानबिनपछि यदि नदी किनार बाहिर घरधनीको वैध जग्गा भेटिएमा त्यस्तो जग्गा फिर्ता गरिनेछ।

सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।