समाचार

गालीबेइज्जती दाबी पुष्टि नभएपछि निकिताको रिट खारेज

२१ वैशाख, काठमाडौं । सहकारी ठगी प्रकरणसँग जोडिएको समाचारलाई लिएर दायर गरिएको गालीबेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलको दाबी नपुगेको ठहर गर्दै रिट खारेज गरेको छ।

सोमबार भएको फैसलामा अदालतले अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालसहित विभिन्न सञ्चारमाध्यमसँग सम्बन्धित २९ जनाविरुद्ध दायर मुद्दामा पर्याप्त आधार नदेखिएको निष्कर्ष निकालेको हो।

निकिता पौडेलले आफू आबद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले गरेको छापासम्बन्धी विवरणमा आधारित समाचारका कारण आफ्नो मानहानी भएको दाबी गर्दै मुद्दा दायर गरेकी थिइन्। उक्त समाचार महानगरको आधिकारिक वक्तव्यका आधारमा प्रकाशित भएको थियो।

यस प्रकरण ०८० चैत २१ मा काठमाडौं महानगरपालिकाले सहकारीमा छापा मारेपछि सार्वजनिक भएको विवरणसँग सम्बन्धित छ। त्यसबेला रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए।

अदालतले प्रकाशित सामग्री आधिकारिक स्रोतमा आधारित रहेको देखिएको र दाबीअनुसार गालीबेइज्जती पुष्टि हुने पर्याप्त आधार नभेटिएको भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेको हो।