ब्रेकिङ न्युज

माजिद अन्सारीको रिहाइको माग गर्दै धर्ना दिने २६ जना पक्राउ

२८ असार, काठमाडौं। अभियन्ता माजिद अन्सारीको पक्राउको विरोध र उनको तत्काल रिहाइको माग गर्दै विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना दिन पुगेका २६ जना अभियन्ताहरूलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ।

‘जेनजी’ समूहमा आबद्ध रहेका उनीहरूले प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमै धर्ना दिएर आवागमन प्रभावित पारेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, प्रहरी कार्यालयजस्तो संवेदनशील क्षेत्रको मुख्य गेटमै अवरोध सिर्जना गरी प्रदर्शन गरिएकाले कानुनबमोजिम उनीहरूलाई नियन्त्रणमा लिनुपरेको हो। पक्राउ परेका सबै अभियन्ताहरू माजिद अन्सारीको विनासर्त रिहाइको माग गर्दै आन्दोलित थिए।

काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढीबाट प्रभावित सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका बेला प्रहरीले माजिद अन्सारीसहित सरिश्मा थापा र नहेन्द्र खड्कालाई पक्राउ गरेको थियो। उक्त घटनामा पक्राउ परेकामध्ये थापा र खड्का हाल रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमा रहेका छन्।

जेनजी अभियन्ताहरूले प्रहरीको कुटपिटबाट अन्सारी गम्भीर घाइते भएको र हाल उनको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। उनीहरूले अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै तत्काल रिहाइको माग गर्दै आएका छन्