जनकपुरधाम । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले प्रजातान्त्रिक आन्दोलनका अभियानीको योगदानको कदर गर्नु सबैको दायित्व भएको बताएका छन्।
काङ्ग्रेस धनुषाद्वारा आज यहाँ आयोजित २००७ सालदेखि प्रजातान्त्रिक आन्दोलनका सक्रिय क्रियाशील सदस्य श्रीराम चौधरीको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उपसभापति निधिले राणाशासन र निर्दलीय व्यवस्थाविरूद्धको आन्दोलनमा चौधरीको योगदान महत्वपूर्ण रहेको प्रसङ्ग उल्लेख गरे ।
अभियानी चौधरीको निधनमा काङ्ग्रेस केन्द्रीय समितिले व्यक्त गरेको समवेदना र शोकसन्देशबारे जानकारी गराउँदै उनले भने, “अभियानी चौधरी राजनीतिक, सामाजिक अभिभावक हुन्थ्यो ।” अभियानी चौधरीको व्यक्तित्व, चिन्ता र सक्रियताबारे शोध, अनुसन्धान गरी पुस्तक प्रकाशन गर्नु जरुरी भएको उनले बताए ।
पूर्वमन्त्री रामकृष्ण यादवले अभियानी चौधरी देश, समाज, दलका लागि सधैँ चिन्तित रहने गरेको प्रसङ्ग उल्लेख गरे। प्रदेशसभा सदस्य रामसरोज यादव गान्धीवादी नेता महेन्द्रनारायण निधिसँग देश र दलकै बारेमा परामर्श हुने गरेको बताए ।
काङ्गे्रसका धनुषा सभापति महेश शङ्कर गिरीको अध्यक्षतामा भएको सो सभामा जनकपुरधाम उपमहानगरपालिका काङ्गे्रस नगर समिति सभापति मनोज साह, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वनगर प्रमुख वजरङ्ग साह, पूर्वउपप्रमुख किशोरी साह र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष दिगम्बर रायले अभियानी चौधरीको योगदानबारे प्रकाश पारेका थिए ।





