ब्रेकिङ न्युज

के सुनको मुन्द्राकै लागि लिइयो १० वर्षीय तनुजको ज्यान ?

१३ असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न भएको आशंकामा एक जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

तनुज बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । बाटोमा भेटिएका आफ्नै उमेरका साथीसँग उनी गौरीगंगा नगरपालिका–६ मोयास्थित खेततर्फ गएका थिए। त्यहाँ केही समय बिताएपछि साँझ घर फर्किने भन्दै छुट्टिएका तनुज त्यसपछि सम्पर्क विहीन भएका थिए।

परिवारले खोजी थालेपछि प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजतलास गरेको थियो। त्यसक्रममा शुक्रबार धनगढी र गौरीगंगाको सीमामा पर्ने कालिका सामुदायिक वनभित्र उनको शव फेला परेको हो। शव नजिकै साइकल, प्लास्टिकको झिल्ली, चप्पल तथा अन्य केही सामग्री पनि भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा तनुजको हत्या गरी शव जंगलमा फालिएको देखिएको प्रहरीले जनाएको छ। बालकले कानमा लगाएको सुनको मुन्द्रा घटनास्थलमा नभेटिएकाले लुटपाटका लागि हत्या गरिएको हुन सक्ने आशंकालाई प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ।

घटनामा अनुसन्धानका लागि तनुजसँग अन्तिम पटक देखिएका नाबालक साथीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। घटनास्थलमा उपस्थित रहेका अर्का एक व्यक्ति भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको भूमिकाबारे विस्तृत अनुसन्धान जारी रहेकाले अहिले नै अन्तिम निष्कर्षमा पुग्न भने बाँकी छ।