१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व चयनमा उमेरभन्दा क्षमता, अनुभव र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले युवा हुनु वा उमेर ढल्किनु मात्रै नेतृत्वको मापदण्ड हुन नसक्ने उल्लेख गर्दै ३६ वर्ष पुगेका सबै व्यक्ति बालेन शाहजस्ता नहुने टिप्पणी गरे।
शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लिङ्देनले नेतृत्वका लागि उमेरभन्दा व्यक्तिको दक्षता र अनुभव महत्वपूर्ण हुने बताए। उनले वर्तमान विश्व राजनीतिका उदाहरण दिँदै ८० वर्षीय डोनाल्ड ट्रम्प अमेरिकाजस्तो शक्तिशाली मुलुकको नेतृत्व गरिरहेको स्मरण गराए।
उनले भने, “८० वर्षका सबै डोनाल्ड ट्रम्प हुँदैनन्, त्यसैगरी ३६ वर्ष पुगेका सबै बालेन शाह पनि हुँदैनन्। नेतृत्वमा उमेर होइन, क्षमता र अनुभवले फरक पार्छ।”
लिङ्देनले राप्रपामा युवा र अग्रज पुस्ताबीच सन्तुलित सहकार्य रहेको दाबी गरे। उनका अनुसार पार्टीमा २५ वर्षदेखि ८५ वर्षसम्मका सदस्यहरू सक्रिय छन् र यही मिश्रणले पार्टीलाई बलियो बनाएको छ।
उनले युवाको ऊर्जा र अग्रजको अनुभवको उचित संयोजन नै सफल नेतृत्वको आधार हुने उल्लेख गर्दै पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अफवाह र अपुष्ट कुराको आधारमा धारणा नबनाउन आग्रह गर्दै उनले त्यस्ता गतिविधिले पार्टी र व्यक्तिदुवैलाई नोक्सान पुर्याउने चेतावनी पनि दिए।





