ब्रेकिङ न्युज

अभिषेक गिरी पक्राउसँगै मोरङ कारागारमा तनाव, कैदीबन्दी नै पक्ष–विपक्षमा उत्रिए

१३ असार, विराटनगर । कैदीबन्दीको गर्मी भत्ताको रकम दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको विषयलाई लिएर मोरङ जिल्ला कारागारभित्र तनाव सिर्जना भएको छ। गिरी पक्राउ परेलगत्तै कैदीबन्दीहरू दुई समूहमा विभाजित भएर कारागार परिसरमै प्रदर्शनमा उत्रिएका हुन्।

शनिबार बिहान विराटनगर–८ मधुमारास्थित निवासबाट पक्राउ परेका गिरीमाथि बी ब्लकका कैदीबन्दीका लागि छुट्याइएको १३ लाख ४० हजार रुपैयाँ बराबरको गर्मी भत्ता हिनामिना गरेको आरोप छ। प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएपछि कारागारभित्र समर्थन र विरोधमा छुट्टाछुट्टै प्रदर्शन भएको हो।

कारागार प्रशासनका अनुसार बी ब्लकका केही कैदीबन्दीले गिरीको समर्थनमा प्लेकार्डसहित प्रदर्शन गरे भने ए ब्लकका कैदीबन्दीले उनीविरुद्ध नाराबाजी गर्दै विरोध जनाए। यसले केही समय कारागारभित्र असहज अवस्था सिर्जना गरेको थियो।

मोरङ कारागारमा तीन ब्लकमा गरी एक हजारभन्दा बढी कैदीबन्दी छन्। उनीहरूलाई गर्मी भत्ताबापत प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ वितरण गरिएको थियो। तर बी ब्लकका कैदीबन्दीका लागि छुट्याइएको रकम वितरणपछि गायब भएको घटनासँग गिरीको नाम जोडिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

पक्राउपछि गिरीले छाती दुखेको गुनासो गरेपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरेको जनाएको छ।

अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद सजाय भुक्तान गरिसकेका गिरी दुई वर्षअघि कारागारबाट छुटेका भए पनि कारागारभित्रको आन्तरिक गतिविधिमा उनको प्रभाव कायम रहेको आरोपसमेत उठ्दै आएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।