खेलकुद

मैदानमा फर्किए नेयमारः पीएसजीलाई सहज जित

एजेन्सी । चोट मुक्त हुँदै मैदान फर्किएका नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले फ्रान्सको लिग वानमा सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलीलाई २–० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनी फरवार्ड मौरो इकार्डीले १७ औ मिनेटमा पीएजीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनी यसै सिजन लोनमा ईन्टर मिलानबाट पीएसजी आएका थिए । उनले पछिल्लो ९ खेलमा पीएसजीका लागि १० औ गोल गरेका छन् । ३१ औ मिनेटमा डी मारियाले पीएसजीको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

जितसंगै पीएसजीले लिग वानमा ११ अंकको अग्रता लिएको छ । अक्टोबर यता चोटका कारण नेयमार मैदान बाहिर रहदै आएका थिए । उनी अन्तराष्ट्रिय खेलमा ब्राजिलबाट खेल्ने क्रममा घाईते भएका थिए ।

नेयमार यस सिजन मात्र ६ खेलमा पीएसजीबाट खेल्न पाएका छन् । उनलाई ६५ औ मिनेटमा केलियन एम्बाप्पले स्थानान्तरण गरेका थिए । पीएसजीले च्याम्पियन्स लिग फुटबलमा मंगलबार रियल मड्रिडविरुद्व समूह चरणको खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

पीएसजीले १४ खेलबाट ३३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । लिली १९ अंक सहित सातौ स्थानमा छ ।