समाचार

आइएफआरसीको महासचिव पदमा चापागाईं चयन

काठमाडौं । विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी) को महासचिव पदमा जगन चापागाईं छानिएका छन् ।

उनले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नेछन् । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागाई सो पदमा पुग्ने पहिलो नेपाली हुन् ।

देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् ।

आइएफआरसीको मङ्गलबार बसेको गर्भनिङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिएका आइएफआरसीले मङ्गलबार जनाएको छ । उनले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागाई महासचिव पदमा छानिएको बैठकमा जानकारी दिएका थिए । यसअघि सो पदमा इलाड सई कार्यरत थिए ।

विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गगरेका थिए ।