पर्यटन/संस्कृति

नेपाल भ्रमण आएका पर्यटकलाई सोट्टोले सीमामा स्वागत गर्दा परे दङ्ग

लुम्बिनी । नेपाल भ्रमण आएका एक हुल पर्यटकलाई ट्राभल्स व्यवसायीको संस्था सोट्टो नेपालले सीमामा स्वागत गर्दा उनीहरु दङ्ग परे । पाल्पाली ढाका टोपी लगाएर स्वागत गर्दा उनीहरुमा खुशीको सीमा थिएन । एकाएक सबैले ‘वेलकम इन नेपाल’ भनेर हातहातमा फूलका थुँगा दिँदा भारत हुँदै नेपाल प्रवेश गरेका पर्यटकहरु खुशीले गद्गद् भए । “सत्र जना थाई पर्यटकहरु र पाँच जना भारतीय पर्यटकहरुलाई हामीले सीमामा स्वागत ग¥र्यौँँ । थाईहरु लुम्बिनी र भारतीयहरु पाल्पा घुम्न आउनुभएको रहेछ ”, सोट्टो नेपाल प्रदेश समितिक वरिष्ठ उपाध्यक्ष श्रीचन्द गुप्ताले बताए ।

बेलहिया नाका हुँदै दैनिक सयौंँ पर्यटक नेपाल भित्रिरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या विगतमा भन्दा दोब्बर हुने विश्वास यस क्षेत्रका जानकारले राखेका छन् । अहिले प्रदेश नं ५ को सरकारको अभियानका रुपमा लुम्बिनी भ्रमण वर्ष २०७६ पनि चलिरहेको छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार सन् २०१९ मा एक लाख ६१ हजार ६९१ विदेशी पर्यटक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन् । स्थलमार्ग हुँदै बेलहिया सीमाबाट प्रवेश गर्नेहरु अधिकांश लुम्बिनी घुम्ने उद्देश्यले आएको खनालले बताए । उनले भने, “राहदानी सहित नेपाल प्रवेश गरेकाहरु सबैभन्दा बढी श्रीलङ्का, म्यानमा, थाई, भियतनामी देखिन्छन् । बुद्धिस्ट धर्म मान्ने उक्त देशबाट आएका पर्यटकको मुख्य गन्तव्य लुम्बिनी नै हो ।”

बौद्धधर्मावलम्बी देशबाट आएका पर्यटक लुम्बिनी, भारतीयहरु प्रायः काठमाडौँ, स्वर्गद्वारी, सौराहा, पाल्पा तथा जर्मन र सिङ्गापुरका जनता पाल्पा र पोखरा जाने उद्देश्यले नेपाल आउने गरेको बेलहियामा डेढ दशकदेखि ट्राभल्स व्यवसाय गर्दै आउनुभएका व्यवसायी गुप्ताले बताए । नेपाल भ्रमण वर्षले पर्यटन व्यवसायमा ठूलो सकारात्मक सङ्केत देखिएको पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले बताए  । उनले भने, “फेबु्रअरी ११ मा ८५५ जना भारतीयहरु नेपाल भ्रमणका लागि आउँदैछन् । उनीहरुका लागि हामीले प्याकेजसहित बुक गरिसकेका छौंँ । उनीहरु लुम्बिनी हुँदै प्रदेश नं ५ का विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गर्दैछन् ।”

‘घुम्न जाउँ बर्दिया’ भन्ने मूल नाराका साथ प्रदेश नं ५ मा नेपाल भ्रमण वर्षको शुभारम्भ मुख्यमन्त्री शङ्कर पोखरेलले बर्दियाको ठाकुरद्वारामा आयोजित एक कार्यक्रमबाट जनवरी १ तारिख ( पुस १६ गते ) गरिसकेको छ । भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितीले आयोजना गरेको उक्त कार्यक्रमको शुभारम्भसँगै प्रदेश नं ५ मा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास पनि प्रदेश सरकारले राखेको छ ।

प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लामा घुम्नलायक मुख्य मुख्य गन्तव्य सयौंँ छन् । सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक महत्वका पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्ने उद्देश्यले यस प्रदेशमा विदेशी पर्यटक आउने गर्छन् । सङ्घीय सरकारले सन् २०२० का अवधिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित कार्यक्रम घोषणा गरेको भए तापनि नेपाल भित्रिने पर्यटकमध्ये पचास प्रतिशत पर्यटक प्रदेश नम्बर ५ का विभिन्न स्थलको अवलोकनमा आउने विश्वास प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले व्यक्त गरे ।

प्रदेश नं ५ भौगोलिक, सास्कृतिक, ऐतिहासिक, जातीय, धार्मिक र प्राकृतिक हिसाबले विविधतायुक्त प्रदेश हो । नेपाल भ्रमण वर्ष प्रदेशस्तरीय समितिका सहसंयोजक माधव नेपालले भने, “ मिनी नेपालको रुपमा रहेको प्रदेश ५ मा आउने पर्यटकको सङ्ख्या सन् २०२० को अवधिमा १० लाखभन्दा बढी हुने छ ।”

पर्यटनको मुख्य केन्द्र मानिने प्रदेश नं ५ मा शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनीदेखि सिस्ने हिमाल, गौमुखीदेखि चिसापानीसम्मका मुख्य पर्यटकीय गन्तव्य पर्छन् । बाह्र जिल्लाका मुख्य गन्तव्य नै फरक फरक महत्व र आकर्षणको केन्द्र देखिएका छन् । पर्यटन व्यवसायीले प्रदेशका १२ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्य समेटेर प्याकेज बनाएको नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर्स (नाट्टा) प्रदेश ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार नेपाल भ्रमण वर्षले स्थापित पर्यटकीय गन्तव्य र नयां पर्यटकीय गन्तव्य दुवै मिलाएर नाट्टाले विभिन्न प्याकेज बनाएको छ । उनले भने , “हामीले लुम्बिनी, कपिलवस्तुु, स्वर्गद्वारी हुँदै बाँके, बर्दियासम्मको एउटा प्याकेज, रुकुम, रोल्पा, दाङ हुँदै प्युठानसम्म अर्को प्याकेज, पाल्पा, गुल्मी, अर्घाखाँचीको अर्को अलग प्याकेज तथा नवलपरासी, रुपन्देही र कपिलवस्तुको बुद्धसर्किटको अलग्गै प्याकेज बनाएका छौंँ ।”

पर्यटनविद् प्रा डा गितु गिरीका सैनामैना क्षेत्र, बुटवलको सिद्धबाबा र रामापिथेकश, गजेडीको दानापुर ताल, विष्णुपुराको गैडहवा ताल, गजेडीको लौसा ताल, फायरलाइनको लुम्बिनी साझेदारी वन, देवदहको पोखरी र छपियाको मत्स्यक्षेत्र रुपन्देहीका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।