पु.समाचार

प्रधानसेनापति थापा स्वदेश फिर्ता

काठमाडौं । बंगलादेश भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा आज स्वदेश फर्किएका छन् । पुष २७ गते बंगलादेश सेनाका सेना प्रमुख जनरल अजिज अहमद, बीएसपी, बिजीबीएम्, पिबिजीएम्, पीएससी, जीको अनौपचारिक निमन्त्रणामा बंगादेश पुगेका थापा बुधबार नेपाल फर्किएका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका महामहिम राजदूत, नेपाली सेनाका रथीवृन्द र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणको दौरान उनले बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हामीद, बंगलादेश सेनाका सेना प्रमुख, बंगलादेश सेनाका चीफ अफ एयर स्टाफ र चीफ अफ नाभल स्टाफ लगायत  बंगलादेश सेनाका उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गरेका थिए । उनले भ्रमणको दौरान बंगलादेश सेनाको सैनिक अस्पताल, नेशनल डिफेन्स कलेज,डिफेन्स कलेज, डिफेन्स सर्भीस कमाण्ड र स्टाफ कलेज लगायत विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको समेत भ्रमण गरेका थिए ।  

हाल मित्रराष्ट्र बंगलादेशमा संचालन हुने नेशनल डिफेन्स कलेज, स्टाफ कलेज कोर्स, जुनियर स्टाफ कोर्स, युनिट कमाण्ड एण्ड स्टाफ कोर्स, योङ अफिसर्स कोर्स, मिलिटरी पोलिस एडभान्स कोर्स र ग्लोबल पिस एण्ड सेक्युरिटी जस्ता तालिमहरुमा नेपाली सेनाका अधिकृतहरु सहभागी हुने गरेका छन् भने नेपालमा संचालन हुने कमाण्ड एण्ड स्टाफ कलेज कोर्स, माउन्टेन वारफेयर कोर्स, काउन्टर इनसर्जन्सी एण्ड जंगल वारफेयर कोर्स, पारा बेसिक कोर्स लगायत युएन सम्बन्धी तालिमहरुमा बंगलादेशका सैनिक अधिकृतहरु सहभागी हुँदै आएका छन् ।  

यस्तै, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा आगामी माघ २४ गतेदेखि माघ २८ गतेसम्म बंगलादेश सेनाका सेना प्रमुख जनरल अजीज अहम्मदले औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेश सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी समझदारी, हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।