राजनीति

भ्रष्टाचारको छानविन र कारर्बाहीको माग गर्दै बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाविरुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका हुन् ।

आइतबार परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको बताए । ‘अख्तियारमा विभिन्न माध्यमहरुबाट उजुरी पर्ने गर्छन् ।बाँस्कोटाका हकमा पनि उजुरी परेकाले त्यसको छानविन प्रक्रिया अघि बढ्छ’, प्रवक्ता कोइरालाले भने ।