खेलकुद

खप्तड गोल्डकपको पहिलो सेमिफाइनल आज हुँदैः एपीएफ र आयोजक भिड्दै

धनगढी । सर्वाधिक धनराशिको चौंथो सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो सेमिफाइनल आज (शनिबार) हुँदैछ ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम ११ र साविकको उपविजेता एपीएफ क्लब भिड्ने छन् । आयोजक र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आयोजक सुदूरपचिम ११ एपीएफविरुद्ध बदला लिन चाहन्छ । गत सिजन आयोजक सुदुरपश्चिम एपीएफसँग सेमिफाइनलमै रोकिएको थियो । तर, यस पटक भने घरेलु दर्शकमाझ आयोजक बदला दिने दाउमा हुनेछ ।

एपीएफ भने पुनस् सुदुरपश्चिमलाई हराएर फाइनल पुग्न चाहन्छ । एपीएफले पहिलो खेलमा एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

क्वाटरफाइनलमा एपीएफले साविकको विजेता टिम पुलिसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

यता, बाई पाएको आयोजकले क्वाटरफाइनलमा भने भारतको कंजनजंघा एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफसँगको भेट तय गरेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल आईतबार हुनेछ । दोस्रो सेमिफाइनलमा थ्री स्टार र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार प्रदान गरिने छ ।