राजनीति

कोरोना संक्रमण फैलिएको देशबाट सरकारले समयमै प्रवेश रोक्ने काम गरेनः सहमहामन्त्री डा महत

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाश सरण महतले कोभिड (१९ अर्थात कोरोना भाइरस संसारभरी महामारीका रूपमा फैलिएको बताएका छन् । उनले यसको रोकथाम गर्ने भ्याक्सीन नबनेको र, उपचारको ठोस औषधी पनि बनिनसकेको अवस्थामा संक्रमितबाट अरूमा सर्ने भएकाले संक्रमितको सम्पर्कमा नजानुनै यसबाट जोगिने उत्तम उपाय बताएका छन् । उनले नेपालमा को संक्रमित भएको छ ? वा छैन, ठोस जानकारी छैन भन्ने कुराको जानकारी हुनुपर्ने बताएका छन् । उनले संक्रमित भएको परिक्षणको राम्रो व्यवस्था पनि छैन । संक्रमण फैलिएको देशबाट आउन सरकारले समयमै रोक्ने काम गरेन । बल्ल अहिले रोक्दैछ, भनेका छन् ।

डान महतले, भनेका छन्ः

यस्तो अवस्थामा सरकारकातर्फबाट रोकथामका लागि संक्रमित देशहरूको अनुभव र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरूप ठोस उपायहरू लागु गरोस् । हचुवा र सतही काम नहोस् । तर, यो महामारीबाट बाँच्ने काम हामी आम नागरिकले आफै जागरूक भएर पनि गर्न जरूरी छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार चलौं ।

कोरोना (कोभिड-१९) को लक्षणः
रूघाखोकीजस्तै देखिन्छन् । ज्वरो, खोकी र श्वास फेर्न गार्हो हुनु यसको सामान्य लक्षण हो ।

कसरी सर्छ ?
संक्रमित व्यक्तिले हाँछ्यु गर्दा र खोक्दा नजिक रहेको व्यक्तिलाई सर्दछ । त्यस्तै भाइरस रहेको ठाउँमा छुँदा वा संक्रमितहरूलाई छुँदा संक्रमण हुनसक्दछ ।

कसलाई सर्छ ?
जसलाई पनि सर्ने सम्भावना हुन्छ । वृद्दहरू, डाइबिटिज, मुटु रोग लागेका दिर्घ रोगीहरूलाई सर्ने सम्भावना बढी हुन्छ ।

कसरी बच्ने कोरोनाबाट ?
१.माथि उल्लेखित लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुस् । अरू बेलामा घरबाट बाहिर ननिस्कनुस् ।
२.खोक्दा र हाँछ्यु गर्दा मुख छोप्नुस् । अथवा कुइनाले नाक, मुख ढाकौं।
३.साबुन पानीले पटक पटक हात मिचिमिचि धोऔं ।
४.आफुले छोएको ठाउँ वा वस्तु सफा राखौं ।
५. हात मिलाउनु वा अंकमाल गर्नुको साटो नमस्कार गरौं

६. भिडभाडमा नजाऔं
७. कसैलाई भेट्नै परे टाढा रहेर (दूरी कायम गरेर) भेटौं

सर्वप्रथम देश विदेशमा रहनुभएका साथीभाई, इष्टमित्र, दिदिबहिनी,दाजुभाई र सम्पुर्णमा कोरोना भाइरसबाट बच्न र बचाउन गम्भीर हुँदै सचेत रहन अनुरोध गर्दछु ।

डा. प्रकाशशरण महत
सहमहामन्त्री, नेपाली कांग्रेस