२१ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मी हार्दिक शुभकामना दिएका छन् । उनले लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गरेका छन् ।
प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ? भन्ने प्रश्न गर्दै वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र ब्यवहार सच्याउन आजको विशेष दिनले महत्वपूर्ण भूमिका खेल्ने बिश्वाससहित सार्वजनिक रुपले अपील गररेका छन् ।
सभापति देउवाले यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको हो भने त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको भएको जिकिर गर्दै भनेका छन्,
“पत्रकार र मिडिया यतिबेला दुई खालका चुनौतीबाट गुज्रिरहेका छन् । कोभिड १९ को बिश्व महामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको ब्यवहारिक ब्यवस्थापनमा चुनौती ल्याएको छ । बिज्ञापन देखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसविचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् । अतः कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न म सरकारसंग आग्रह र माग गर्दछु । जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु । महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ । यसका केही संकेत सरकारका अभिव्यक्ति र ब्यवहारमा देखिएका छन् । संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छंदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ । लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंग माथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै नेपाली कांग्रेस सदैव त्यस विरुद्ध प्रखर रुपले उभिने छ । नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउंदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा एक्यवद्धता प्रकट गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वदेश र बिदेशमा रहेका सबै नेपाली संचारकर्मी र संचारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु ।”





