समाचार

रेडक्रस, समाजकल्याण परिषद्लाई जवाफदेही र पारदर्शी बनाउन सुझाव

११ साउन, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक संघ, संस्थालाई गलत काम नगर्न आग्रह गरेका छन् । मानव अधिकार एलायन्सले आज आयोजना गरेकोे ‘भर्चुअल’ कार्यक्रममा उनले मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्पलाई पूरा हुने गरी काम गर्न आग्रह गरेको हो । मन्त्री गुरुङले सामाजिक रुपान्तरणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि नबढाए राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिलाई जोगाउन नसकिने स्पष्ट पारे ।

नागरिक अगुवा सुशील प्याकुरेल, समाजकल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष डा पदमप्रसाद खतिवडा, नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष डा नेत्र तिमिल्सिनालगायतले आफूहरुले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाही, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठक, गैरसरकारी संस्था महासंघ र नेपालका अध्यक्ष जीतराम लामाले रेडक्रस, समाजकल्याण परिषद्लगायत संघसंस्थालाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने औंल्याएका थिए ।