१ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आज संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले७.०३ प्रतिशत बोनस शेयर र ३.३७प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने समेत निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैया ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी ८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैया संचित रहेको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।





