आर्थिक

माउन्ट एभरेष्ट पावरको आईपीओमा चर्को प्रतिस्पर्धा

९ असार, काठमाडौं ।  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा सर्वसाधारणबाट अत्यधिक माग परेको छ। कम्पनीको अन्तिम चरणको आईपीओमा मागभन्दा करिब २२ गुणा बढी आवेदन परेको छ।

कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म थप सर्वसाधारणका लागि १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो। तर, सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार अन्तिम दिनसम्म २८ लाख ९५ हजार ७९४ आवेदकबाट कुल ३ करोड १४ लाख ४६ हजार २८० कित्ता सेयरका लागि आवेदन परेको छ।

उच्च मागका कारण कम्पनीको आईपीओ भाग्यशाली आधारमा बाँडफाँट हुने भएको छ। जसअनुसार करिब १ लाख ४२ हजार ७६० जना आवेदकले मात्र १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।

यसअघि कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। प्रारम्भिक चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट भइसकेको छ।