२९ असोज, काठमाडौं । लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी गरेको छ । राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव पद) को रिक्त स्थान पूर्तिका लागि आयोगले बुधबार ६ सय ३८ पदको लागि विज्ञापन प्रकाशित गरेको हो ।
कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवको खुला तथा बढुवा गरेर ६ सय ३८ पदको विज्ञापन प्रकाशित गरिएको आयोगले जनाएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो ।
सरकारले असोज पहिलो साता नै रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गरेको थियो । आयोगले गएको चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ ।
अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ । आयोगका अध्यक्ष उमेश मैनालीका अनुसार सहसचिव र उपसचिव पदको लिखित परीक्षा बिहान र दिउँदो दुई सिफ्टमा सञ्चालन हुने छ । यसपछि शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीको विज्ञापन गरिने उनले बताएका छन् ।





