राजनीति

अध्यक्ष ढुंगाना आक्रोशितः नसच्चिए सत्ता आतंक/प्रहरी संरक्षित गुण्डागर्दी विरुद्ध कडा आन्दोलन गर्छौं

२९ असोज, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघले मध्य पश्चिम विश्वविद्यालयका उपकुलपतीलाई विद्यार्थीका समस्याहरु तथा शैक्षिक मुद्दाहरु उपर ध्यानाकार्षण गराउन जाँदै गर्दा भाडाका गुण्डाहरु प्रयोग गरी तथा प्रहरी समेत लगाई विद्यार्थी नेताहरु माथी निर्घात कुटपिटको घटनाले स्तब्ध भएको जनाएको छ।
अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘चैत्र यता विश्व विद्यालय बन्द रहेकाले यस अवधिको शुल्क विद्यार्थीले तिर्न नपर्ने व्यवस्था गर भन्ने लगायतका विद्यार्थीका समस्याहरु उठान गर्दैगर्दा निवर्तमान के।स। अनिल शाही लगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे माथि सांघातिक आक्रमण भएको घटनाको हामी घोर भत्सर्ना गर्दछौं । उक्त आक्रमणमा संलग्न भाडाका गुण्डाहरु र प्रहरी माथि कडा भन्दा कडा कार्वाही गर्न गृह प्रशासन सँग जोडदार माग गर्दछौं ।’

नेविसंघ अध्यक्ष ढुंगानाले चेतावनी दिँदै भनेका छन्, ‘यसै गरी सत्ताको चरम दुरुपयोग गर्दै उपकुलपतीको ईसारामा घाईते भएका विद्यार्थी नेताहरु अनिल शाही, सबिन चालिसे, रोशन कटवाल र सुरेन्द्र काफ्ले लगायतका विद्यार्थी नेताहरुलाई उपचार गर्नुका सट्टा उल्टै प्रहरीले गिरफ्तार गरी लगेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछौं । गिरफ्रता गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा उपकुलपतीले मच्चाएको सत्ता आतंक तथा प्रहरी संरक्षित गुण्डागर्दी विरुद्ध कडा आन्दोलन गर्न वाध्य हुनेछौं ।’