पु.समाचार

बलात्कारको घटना मिलापत्र गर्ने वडाअध्यक्षलाई प्रहरीले लियो नियन्त्रणमा

१५ मंसिर, काठमाडौं । बलात्कारको घटना मिलापत्र गर्ने वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको सिगास गाउँपलीकाका वडा अध्यक्ष शेरसिंह साउदलाई सोहि ठाउँकी एक १८ वर्षे किशोरी बलात्कारको घटनालाई मिलापत्र गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै वडा अध्यक्ष साउद संगै अन्य चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बलात्कारका मुुुख्य आरोपित सिगास गाउँपालीका ३ का दिपक सिंह धामी भने फरार रहेका छन् र उनकाे खोजिकार्य जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

साथै उक्त घटनामा सामेल सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीले यसअघि गत बिहीबार मनोजसिंह धामी र अमर धामीलाई पक्राउ गरेको थियो । अधिकारीका अनुसार अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।

गत जेठमै भएको बलात्कारको घटनामा पीडितलाई असार १४ गते एक तोला सुन दिने प्रलोभनमा पारी गाउँमै तमसुक बनाएर लुकाईएको थियो । तर सुन दिने भनिएपनि नदिएपछी पीडित पक्ष प्रहरीमा गएपछि उक्त घटना बाहिरीएको थियो ।