समाचार

निरोगी जनता भए मात्र देश समृद्ध हुन्छः मन्त्री थापा

२९ मङ्सिर, रत्नननगर / गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताएका छन् । भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देश समृद्ध हुन पहिला जनता निरोगी हुनुपर्ने उल्लेख गरे । “नेपाली रोगी छन् भने सुखी हुन सक्दैनन्”, उनले भने, “सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पनि पूरा हुँदैन । देश समृद्धतर्फ पनि जान सक्दैन ।”
मन्त्री थापाले कोभिड–१९ ले अर्थतन्त्र र समृद्ध नेपाल निर्माणमा ठूलो असर पारेकाले अव स्वास्थ्य हुँदै निरोगी नेपाली, समृद्ध नेपालको निर्माणमा अगाडि बढ्नु पर्ने उनको भनाइ थियो । सरकारले यस्ता प्राकृतिक चिकित्सालय निर्माणमा विशेष जोड दिने प्रतिबद्धता पनि मन्त्री थापाले व्यक्त गरे।
भरतपुर महानगरपालिकाको व्यवस्थापनमा सञ्चालनमा रहेको चिकित्सालयले हालसम्म ३८६ जनाको सफल उपचार गरिसकेको छ । प्राकृतिक चिकित्साको मध्यमबाट उपचार गर्ने चिकित्सालयमा लक्षण नदेखिएका बिरामीलाई उपचार गर्दै आइरहेको छ ।
राष्ट्रिय परिचय–पत्र वितरण शुरु
चितवनमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले तीन जनालाई परिचयपत्र हस्तान्तरण गरे। सो अवसरमा मन्त्री थापाले हरेक मानिसको अभिलेखीकरणका लागि परिचयपत्र अति आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीब्रता दिने बताए ।
परिचयपत्रले देशमा शान्ति सुरक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । दुई वर्षभित्र सम्पूर्ण नेपालीको हातहातमा परिचयपत्र पुगिसक्ने मन्त्री थापाले बताए। अब जिल्लाको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम बाँकी छ ।