आर्थिक

माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न

२ पौष, काठमाडौं । माछापुच्छ्रे बैंकको २२ औँं वार्षिक साधारण सभा पुष २ गते बिहिबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जस मध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदानगर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै बैंकले २२ औँ साधारण सभा समाप्त गरे संगै आजैबाट आफ्ना सेयरधनिहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैंया संचित छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकलाई सेवा प्रदानग रिरहेको छ ।